८ वर्षपछि आफ्नै ब्राण्डबाट गुण एयरलाइन्सको उडान शुरु


४ आश्विन २०७८, सोमबार

काठमाडौं – निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ । एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित असोज १ गते शुक्रवारबाट आफ्नो नियमित आन्तरिक उडान शुरु गरेको हो ।

एयरलाइन्सले पहिलो उडानको रुपमा काठमाडौं–चितवन गरेको छ भने दोस्रोमा काठमाडौं–पोखरा उडान भरेको छ । एयरलाइन्सका सिइओ बालकृष्ण श्रेष्ठले गुण एयरलाइन्स कसैसँग प्रतिष्पर्धा गर्नका लागि नआएको बताए ।

उनले एयरलाइन्सले कोरोनाको पेन्डामिक समयमा आम मानिसमा पर्न गएको असरलाई मध्यनजर गर्दै पाँच जेट स्ट्रिम र दुई विचक्राफ्ट सञ्चालनमा ल्याएको बताए ।

सिइओ श्रेष्ठले जनतालाई सुरक्षा, प्यासेन्जरलाई मनोरञ्जन दिने नै गुण एयरलाइन्सको मुख्य लक्ष्य भएको बताए । उनले पुरानो ब्राण्डबाटै चलाउन उपयुक्त हुन्छ भन्ने सोचले लामो समयपछि उडान भरेको जानकारी दिए ।

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले दुई वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई निःशुल्क उडान र वृद्धवृद्धा र ज्येष्ठ नागरिकहरुलाई केही छुटको व्यवस्था गरेको बताए ।

उनले पहिला आफूसँग भएको अमेरिकन विचक्राफ्ट र नयाँ जेट स्ट्रिम पाँच वटा थप गरेर ७ वटा विमान सञ्चालनमा ल्याएको बताए । उनले तत्कालका लागि भरतपुर र पोखरा उडान भरिरहेको तर अन्तिम एक हप्तापछि विराटनगर, भैरहवा, सिमरा, तुम्लिङ्गटार र सुर्खेत लगायतका स्थानमा उडान भर्ने बताए ।





ताजा खबर