१६ आश्विन २०७८, शनिबार
काठमाडौं, – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन ।
अध्यक्ष दाहालले एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरुको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्ष समेत सुनाए ।
पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अवको डेढ वर्ष एमाले गणतन्त्रविरोधी, संघीयता विरोधी रहेको भन्दै जनतामा जान पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
त्यो भयो भने एमालेजस्तो जाली, फटाहा भएको पार्टी थरर्र काम्ने र जनताले आफ्नो पार्टीलाई निर्वाचन जिताउने अध्यक्ष दाहालको दावी छ । अध्यक्ष दाहालले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरियो भने आफ्नो पार्टीले एमालेविरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनी समेत दिए ।