सुख्खा बन्दरगाह सञ्चालनको तयारीमा


१७ आश्विन २०७८, आईतवार

काठमाडौं – काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाहको निर्माणका काम सम्पन्न भएकाले बन्दरगाह सञ्चालनको लागि तयारी गरिरहेको बताए ।

आइतबार बिहान न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै कार्यकारी निर्देशक गजुरेलले बन्दरगाहमा सञ्चालनका लागि भन्सार कार्यालय, क्वारेन्टीन, बैंक, सुरक्षा निकाय लगायतका सम्बन्धीत निकायसँग छलफल भइरहेको भन्दै उनले चाडैँ नै पूर्ण तयारीका साथ सञ्चालनमा ल्याउन लागिएको उनले बताए ।

सुख्खा बन्दरगाह सुरु भएसँगै काठमाडौंको व्यवसायीहरुले सिधैँ काठमाडौंमा सामान ल्याउनसक्ने र छिट्टै उपभोक्ताको माझमा पु-याउन सकिने तथा आयात, निर्यातको मुल्य घटाउन सकिने उनले उल्लेख गरे । काठमाडौंको चोभारस्थित २२० रोपनी जग्गाको क्षेत्रफलमा १ अर्ब ६० करोड रुपैयाँको लगानीमा सुख्खा बन्दरगाह बनेको हो ।

यसभित्र २ वटा गेट, ३ वटा धर्मकाँटा, भन्सार, क्वारेन्टीन र प्रशासनिक गरि ३ वटा भवन, ३ वटा ठुला गोदाम, चेकजाँच गर्ने ३ वटा खुल्ला भवन, ५०० वटा कन्टेनर राख्न सक्ने कन्टेनर यार्ड, ५०० ट्रक व्यवस्थापन गर्न सकिने पार्किङ स्थल निर्माण सम्पन्न भइसकेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए । सिसिटिभी जडान र फायर फाइटर समेत जडान गरिसकेको उनले बताए ।





ताजा खबर