भारतबाट नेपाल फर्किनेहरूको लर्को


२६ आश्विन २०७८, मंगलवार

काठमाडौं – नेपालीहरुको महान पर्व विजया दशमी (दशैँ) मनाउन भारतबाट नेपाल फर्किनेहरूको लर्को लागेको छ ।

सुदूरपश्चिमका नागरिकहरुको रोजगारीको प्रमुख गन्तव्यस्थल भारतका विभिन्न शहरबाट चाडपर्व मनाउन गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको संख्यामा उल्लेखनीय वृद्धि भएको हो ।

गत दुई साता यता कञ्चनपुरको गड्डाचौकीबाट २४ हजार र गौरीफन्टा नाकाबाट दश हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । गौरीफन्टा नाकाबाट मात्रै दैनिक एक हजारदेखि एक हजार ५ सय जनासम्म नेपाल प्रवेश गरिरहेको त्रिनगर सीमानाकाका प्रमुख हेल्थ डेस्क दिनेश ठकुल्लाले बताए ।

स्वदेश फर्किनेको भीड बढेसँगै प्रहरीले सीमा क्षेत्रको सुरक्षा सतर्कता बढाएको बताए ।भारतको दिल्ली, मुम्बइ, महाराष्ट्र, पन्जाव, पुने, बैङ्गलोर, सिमला, हरिद्वारलगायतका शहरमा नेपाली रोजगारीका लागि सदियौँदेखि आउने जाने गरेको स्वास्थ्यकर्मी गणेश साउदले बताए ।

उनले भारतबाट गाउँ फर्किनेबाट कोभिड संक्रमणको जोखिम रहेकाले सीमामा कोरोना परीक्षण र खोप लगाउने कामलाई पनि तीव्रता दिइएको बताए । उनले कोरोनाका साथै नेपाल फर्किनेहरुको सीमामा मलेरिया र एचआईभीको परिक्षण पनि गरिएको बताए ।





ताजा खबर