नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने


४ कार्तिक २०७८, बिहीबार

काठमाडौं – नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको यही मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको हो ।

यस अघि विधान महाधिवेशनको समापनको क्रममा अध्यक्ष ओलीले पार्टीको १० औं महाधिवेशन वुटवलमा गर्ने घोषणा गरेका थिए । तर आजको बैठकले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । बैठकले पार्टी स्थायी कमिटीका सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटी समेत गठन गरेको छ ।

प्रवक्ता ज्ञवालीले महाधिवेशन मूल व्यवस्थापन कमिटीमा नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा. राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सिता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलसहित ७ वटै प्रदेशबाट वटै प्रदेशबाट १÷१ जना प्रतिनिधिहरु र सम्पर्क समन्वय कमिटीबाट समेत १ जना प्रतिनिधि रहनु हुने बताए ।