आस्था र प्राकृतिक सौन्दर्यताले परिपूर्ण मुक्तिनाथ (फोटोफिचर र जानकारी )


६ बैशाख २०७९, मंगलवार

काठमाडौँ – नेपालको मुस्ताङ्ग जिल्लामा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहीआएको छ । नेपाल तथा बिश्वभरिका हिन्दुहरुको पबित्र धार्मिक स्थल मध्येको एक हो मुक्तिनाथ मन्दिर।

मुक्तिनाथ मन्दिरमा दर्शनका साथ स्नान गर्नाले मानिसको मृत्युपछि आत्माले मुक्ति पाई स्वर्गमा बास हुने जनबिश्वास रहिआएको छ। भगवान बिष्णुको मन्दिर रहेकाले पनि हिन्दुहरुको लागि मुक्तिनाथ मन्दिर धेरै महत्वपूर्ण मानिन्छ ।

मुक्तिनाथ तिर्थस्थल शालिग्राम भगवानको लागि पनि प्रसिद्ध रहेको छ । शालिग्राम बिष्णु भगवानको एक अवतारको रुपमा लिइन्छ ।

जानकारीको अनुसार मुक्तिनाथलाइ बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ ‘सय पानी’) भन्दछन् । तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये छुमिङ ग्यात्सा पनि एक हो ।

कुनै समय बौद्ध धर्मगुरुले नेपाल हुदै तिब्बत जाने क्रममा मुक्तिनाथमा ध्यान गरेको भन्ने जनविश्वासले पनि बौद्ध धर्मालम्बीहरुले पनि यहाँ पुजा गर्ने गर्दछन।

मुक्तिनाथ मन्दिर भित्र बौद्ध तथा हिन्दु दुबै धर्मका गुरुहरुले भगवानको पुजा गर्नुको साथै भक्तजनहरुलाई आशिर्वाद दिने गर्दछन। मन्दिरको भित्र परिसरमा  घन्टीहरु राखिएको छ भने मन्दिरको बाहिरी भागहरुमा बौद्ध धर्मालम्बीहरुको साना र ठुला दोर्जेहरु राखिएको छ। मन्दिर नजिकै भगवान बुद्धको ठुलो मुर्तिपनि स्थापना गरिएको छ ।

भगवान बिष्णुको पसिनाबाट एक सय आठ धारा निर्माण भएको भन्ने जनाविश्वासले मानिसहरु मुक्तिनाथ मन्दिरको पछाडी पट्टिको १ सय आठ धारा र अगाडी पट्टिको २ वटा सानो पोखरीमा स्नान गर्ने र पबित्र जलको रुपमा घरमा पनि ल्याउने गर्दछन।

मन्दिर चड्ने सिडी नजिकै भएको ढुंगाहरुको तह निर्माण गर्नाले मृत्युपछि स्वर्गमा आफु बस्ने घर निर्माण गरिएको भन्ने जनविश्वास रहेको छ।

मुक्तिनाथ मन्दिर काठमाडौँ र पोखराबाट हवाई सेवाको माध्यम अथवा पोखरा-बेनी-जोमसोम हुदै स्थलमार्गबाट पनि मुक्तिनाथ मन्दिर पुग्न सकिन्छ।

हाललाइ बेनी-जोमसोम सडक मार्गमा २ लेनको ग्राबेल र पिच सडक निर्माणकार्य भैरहेको हुनाले सानो चार पांग्रे साधनहरुमा जुनसुकै फोर-व्हिलर साधनहरु मन्दिर नजिक सम्मै पुग्दछ। मोटरबाइकहरुको लागि भने समस्या हुदैन। हेलिकप्टरबाट जादा मन्दिर नजिकै हेलिप्याड रहेको छ।

बास बस्न र खानाको लागि मुक्तिनाथ मन्दिरको करिब १ किमि नजिकैपनि सुबिधा सम्पन्न होटेलहरु, बैंक(प्रभु)  छ, मन्दिरको करिब ८-१० किमि टाढा कागबेनी र करिब २० किमि टाढा जोमसोम बजार र विमानस्थल रहेको छ।

हिमाली भेगमा अवस्थित मुक्तिनाथ मन्दिरबाट देखिने ठुला पहाड र हिमालहरुको दृश्यहरु निकै मनमोहक रहेको छ।