नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा छैन: विष्णुप्रसाद अग्रवाल


६ बैशाख २०७९, मंगलवार

नेपाल उद्योग परिसंघले नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा नरहेको बताएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै परिसंघले मुलुकको वर्तमान अर्थतन्त्र कुनै पनि सूचकहरुमा संकटपूर्ण अवस्थामा नरहेको बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले उपलब्ध तथ्यांक र विगतको परिदृष्यको विश्लेषण गर्दा अर्थतन्त्र संकटको अवस्थामा नभएको दाबी गरे । उनले पछिल्लो समय मुलुकको अर्थतन्त्र संकटमा रहेको भन्दै प्रचार भए पनि तत्काल कोही पनि प्यानिक हुनुपर्ने अवस्था नभएको बताए । अध्यक्ष अग्रवालले अर्थतन्त्र संकटको अवस्थामा नभएता पनि चनाखो भएर भने हिंड्नु पर्ने अवस्था रहेको उल्लेख गरे ।

नेपालका उद्योगी व्यवसायीहरुले आर्थिक संकट, कर्जा नपाएको अवस्था, आयातमा समस्या, कर्जाको माग पूर्ति गर्न सक्ने स्रोत नभएता पनि मुलुकको अर्थिक संकटको अवस्था नभएको अग्रवालले बताए । अध्यक्ष अग्रवालले अर्थतन्त्र खुम्चिने क्रममा रहेनपनि अर्थतन्त्रको यथार्थ स्थितिले सजग रहनु पर्ने संकेत गरेको बताए । उनले नेपाल र श्रीलंकाको अर्थतन्त्रसँग तुलना गर्न नमिल्ने बताए ।

अध्यक्ष अग्रवालले श्रीलंकाको भन्दा नेपालको जीडीपीको आकार दोब्बर, जीडीपीको तुलनामा राष्ट्रिय ऋणमा ठूलो अन्तर रहेकाले असहज र अत्यासलाग्दो वातावरण सिर्जना गर्ने गरी तुलना गर्नु नहुने बताए । अग्रवालले नेपालको अर्थतन्त्र ध्वस्त हुँदैछ भनेर गलत प्रचार भइरहेको समेत बताए ।