नेपाली काँग्रेस स्थानीय निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने : महामन्त्री शर्मा


१८ बैशाख २०७९, आईतवार

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेस पार्टी आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गरेका छन।
आईतवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो दाबी गरेका हुन ।

उनले काँग्रेसले स्थानीय तहको निर्वाचनमा विजयी बन्दै गर्दा विजयको कुरामात्र नसोचेको र समाजलाई एकै ठाउँ कसरी उभ्याएर जाने ? भन्ने बारेमा पहलकदमी गरिरहेको बताए ।

महामन्त्री शर्माले स्थानीय निर्वाचनमा काँग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू क्विन्टल र अरु एक/एक किलोको ढक भएको त्रासपूर्ण अभिव्यक्ति दिएको बताए ।

केही दिनअघि नेकपा एमालेका अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा गठबन्धनका ५ दल एक एक किलोको ढक भएको र नेकपा एमाले एक्लै क्विन्टल भएको अभिव्यक्ति दिएका थिए । त्यसप्रति इंगित गर्दै महामन्त्री शर्माले नेकपा एमाले एक क्विन्टल आलु भएको तर गठबन्धन एक/एक तोला मात्र भएपनि सुन भएको जिकिर गरे ।