बहाःबहीः संरक्षण तथा संवद्र्धन समिति बनाइनुपर्छ: सुनिता डंगोल


२६ बैशाख २०७९, सोमबार

काठमाडौं – नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी सञ्चारकर्मी सुनिता डंगोलको चर्चा अहिले काठमाडौंमा धेरै नै छ । महिला उम्मेदवार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट उम्मेदवारी पर्नुले पनि उनीप्रति धेरैको चासो देखिएको हुनसक्छ ।

काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेको तर्फबाट उम्मेदवारी दिनुअघि उनले स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौं महानगरपालिकाको मेयरमा दाबेदारी प्रश्तुत गरेकी थिइन् । त्यसले पनि उनको चर्चा चुलिएको थियो ।

पछि एकाएक एमालेबाट टिकट पाउनुले उनको चर्चा झनै बढ्यो । त्यसो भनिरहँदा राजनीतिमा आउनुपूर्व पनि उनी चर्चामा नै थिइन् । मिस नेवा २०११ की विजेता भएर पनि उनले चर्चा बटुलेकी थिइन् । साथै सञ्चारकर्मबाट पनि उनले आफ्नो चर्चा कमाएकी थिइन् । उनको परिचय यतिमा मात्रै सिमित छैन । अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन लागि परेकी युवा हुन् ।

उनले नेपालको संस्कृतिलाई विशवमाझ चिनाउने किसिमका कार्यक्रम गर्दै आएकी छन् । उनको चर्चा अहिले फेरि बढेको छ । उनी नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा दाबेदार छिन् ।

अहिलेको स्थितिमा हरेक पार्टीका लागि बलियो र मुख्य प्रतिद्वन्दी पार्टी एमालेको तर्फबाट देशको राजधानीमा रहेको महानगरपालिकाको उपमेयरमा युवालाई विश्वास गरेर पार्टीले उपप्रमुख जस्तो पदको टिकट दिनुले पनि उनलाई धेरैले चासोसँग हेरेका छन् ।

नेकपा एमालेको तर्फबाट महानगरको मेयरमा भने पूर्व मेयर तथा एमालेका नेता केशव स्थापितले उम्मेदवारी दिएका छन। नेकपा एमालेले महानगरमा जितेको खण्डमा युवापुस्ता र अग्रज पुस्ताहरुबीचको कम्युनिकेशन मिलाउने कुरामा चुनौति छ ।

त्यसलाई स्थापित र डंगोलले कसरी समन्वय गर्नेछन् भन्ने कुरा यदी जितेको खण्डमा भविष्यमा देखिने नै छ । डंगोल आफैँ पनि आफ्नो पक्षमा स्पष्ट जितका लासिग चाहिने भोट आउनेमा विश्वस्त छिन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले घरदैलो कार्यक्रममा जाँदा राम्रो प्रतिक्रिया आइरहेको बताए ।