कमल थापाकाे तीर र राजेन्द्र लिङ्देनकाे हलाेले एमालेकाे सूर्य चिह्न प्वाल पारिसक्याे: गगन थापा


२७ बैशाख २०७९, मंगलवार

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले एमालेको सुर्य चिन्हलाई प्वाल पारेको बताएका छन ।

मंगलबार गठबन्धनको तर्फबाट गरिएको काठमाडौं महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले घोचेर एमालेको सुर्य चिन्ह प्वाल पारेको बताएका हुन ।

सत्तारुढ गठबन्धनको विरोध गर्ने एमालेले कमल थापा, राजेन्द्र लिङ्देनदेखि विप्लव र सिके राउतसम्म गठबन्धन गरिरहेको उनले बताए । कांग्रेसलाई रुखमा भोट हाल्न नपाएका विचरा भनिएको उल्लेख गर्दै उनले एमालेले पनि गत निर्वाचनमा ५९ वटा क्षेत्रमा सुर्यमा भोट हाल्न नपाएको र हसिया हथौडामा भोट हालेको स्मरण गराए ।

महामन्त्री थापाले गठबन्धनको राजनीति कसको कारणले गर्दा आएको हो भन्ने प्रश्न समेत गरे । उनले भने – ‘हामी कांग्रेसको कार्यकर्तालाई के भनेको पाउँछौ भने बिचरा बरा रुखमा भोट हाल्न पाएका छैनन् भनेर । काठमाडौंबासिले सोध्नुपर्छ, आम नेपालीले सोध्नुपर्छ, नेकपा(एमाले)को अघिल्लो चुनावमा ५९ वटा क्षेत्रमा नेकपा(एमाले)को उम्मेदवार पनि थिएन । ५९ वटा क्षेत्रमा सुर्य चिन्हमा एक जनाले मत हाल्न पाएन हसियाँ हथौडामा मत हाल्नुप¥यो अस्ति भर्खरको चुनावमा होइन ।’

थापाले थपे ‘अस्ति भर्खर प्रचण्डलाई, नेकपा(माओवादी केन्द्र)लाई मत हालेर जिताएर आएर नेकपा(एमाले)ले पार्टी नै एउटै बनाएको होइन ? अनि यो पटकको चुनावमा गठबन्धन भनेर हामीहरु पाँच वटा पार्टी एक ठाउँमा उभिएका छौँ । पाँच पार्टी संसदमा सँगै छ । सरकारमा सँगै छ । तर एमालेसँग उभिएको पार्टी हेरौँ । मकवानपुरमा गयो कमल थापा, चितवनमा आयो राजेन्द्र लिङ्देन । डाडाँ चढ्यो विप्लव । ओरालो ओर्लियो सिके राउत । परिवार दलको साँचो देखि सिके राउतको लाउडस्पिकरसम्म, कमल थापाको तीर देखि राजेन्द्र लिङ्देनको हलो सम्म चारतिरबाट तपाईले सुर्य चिन्ह हेर्नुभयो भने घोच्दा घोच्दा प्वाल परिसकेको देख्नुहुन्छ । आज नेपालमा गठबन्धन राजनीतिको सबैभन्दा ठुलो आलोचक एमाले र त्यसका नेता हुनुहुन्छ । तलबाट जनताले प्रश्न गर्ने होइन ? आज गठबन्धनको राजनीति कसको कारणले गर्दा आएको ।’