सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिम विकासको आधार : उद्योगमन्त्री बडू


३ जेष्ठ २०७९, मंगलवार

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिको सम्भावनाको आधार भएको बताए ।

मन्त्रालयले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले कञ्चनपुरमा प्रश्तावित दोधारा चाँदनी सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्र भविष्यमा सुदूरपश्चिको सम्भावनाको आधार हुने बताएका हुन ।

उनले लामो समयदेखि प्रश्तावित रहेको बन्दरगाह तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शिलन्यास गरेर शिलन्यासमै सिमित रहे पनि अहिलेको सरकारले त्यसलाई प्राथमिकतामा राखेको बताए ।

उनले दैजी छेला औद्योगिक क्षेत्र वर्तमान सरकारको प्राथमिकतामा रहेको पनि बताए । उनले लामो समयदेखि प्रश्ताव र शिलान्यास गरिएपनि बजेटको व्यवस्थापन नभएको भन्दै आगामी आर्थिक वर्षको बजेटमार्फत यी आयोजनालाई सरकारले समेट्ने बताए ।

मन्त्री बडूले नेपाल–भारत र चीनको त्रिदेशीय व्यापारिक महत्वसँग जोडिएको नाका कञ्चनपुर भएकोले बन्दरगाहको योजना सम्पन्न भए औद्योगिक क्षेत्रमा मुलुकले फड्को मार्ने बताए । मन्त्री बडूले औद्योगिक क्षेत्रको निर्माणलाई कसरी सम्पन्न गर्ने भन्ने बारेमा मन्त्रालय चाँडै टुंगोमा पुग्ने र औद्योगिक क्षेत्रको निर्माण अब दु्रत गतिमा अगाढी बढ्ने विस्वास व्यक्त गरे ।

मन्त्री बडूले सुख्खा बन्दरगाहको निर्माणका लागि पहिलो चरणमा ७ अर्ब लागत अनुमान समेत गरिएको बताए । बन्दरगाहको वातावरणीय प्रभाव मुल्याङ्कन र जग्गा भोगाधिकारको विषय टुंगोको लाग्ने चरणमा रहेको अवस्था रहेको पनि उनले बताए ।