गठबन्धनका दलको मत कम आउनुमा आफ्नै संगठनको कमजोरी : गगन थापा


६ जेष्ठ २०७९, शुक्रबार

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरुको मत कम आउनुमा दल स्वयम्को संगठन कमजोर रहेको टिप्पणी गरेका छन ।

शुक्रवार प्रतिनिधि सभाको बैठकका लागि संसद भवन पुग्नुभएका नेपाली कांग्रेसका सांसद तथा महामन्त्री थापाले गठबन्धनका दलहरु पराजय हुनुमा उनीहरुकै संगठन कमजोर हुनु भएको बताएका हुन ।

उनले कांग्रेसका मतदाताले रुख बाहेक अन्य चिन्हमा मतदान गर्ने कुरा पनि गाह्रो भएको बताए । पार्टीका उम्मेदवार र नेताहरुले गठबन्धनमा भोट हाल्न आव्हान गरेको भएपनि कांग्रेसका मतदाता कम्युनिष्ट पार्टीको जस्तो संगठित मतदाता नभएकाले कतिपयले नमानेको उनले बताए ।

उनले गठबन्धनको अहिलेको मत परिणाम स्वभाविक भएको उल्लेख गर्नुभयो । गठबन्धन गर्दा अर्को दल २० प्रतिशत भएको ठाउँमा कांग्रेसले ८० प्रतिशत मत दिनुपर्ने अवस्थामा केही मत चुहिएर कम पर्न गएको र कांग्रेस ८० प्रतिशत भएको ठाउँमा अन्य पार्टीले २० प्रतिशत थपिदा कांग्रेसको जित सहज भएको उनको विश्लेषण छ ।

उनले भने– ‘नेपाली कांग्रेसको मतदाताले आफ्नो चुनाव चिन्ह बाहेकको अर्को चुनाव चिन्हमा मत हाल्ने, मत हाल्न लगाउने कुरा एकदमै गाह्रो कुरा हो । कांग्रेसको मतदाताहरु अन्य पार्टीको जस्तो संगठित मतदाता होइन । कसैले धोका दिन्छ र धोका दिन्न भन्ने कुरा होइन । मैले बुझेसम्म नेपाली कांग्रेसको पार्टी उम्मेदवार, पार्टी कार्यकर्ताहरु खटिएर लागेका थिए, आफुसँग तालमेलमा भएका दलहरुलाई पनि सँगै मत हालौँ भनेरै लागेका थिए। ‘

उनले भने ‘उदाहरणका लागि म काठमाडौंको मेयरमा रुख, उपमेयरमा कलम चिन्ह लिएको गठबन्धनलाई लिएर मतदाताको बिचमा गएँ । तर मैले आफ्नै वडामा हेरें अथवा कतैपनि हेरें भनेदेखि त्यो दुईवटाको विचमा असाध्यै धेरै ठुलो फरक पाउँछु । हामी कसैले कलम चिन्ह लिएको उपमेयरको उम्मेदवारलाई धोका दियौँ वा कम मत दियौँ भनेर होइन । हामीले मतदातालाई आव्हान ग¥यौँ । हाम्रो कुरा, हाम्रो मतदाता भनेको चाहीँ हाम्रो आदेश पालना गर्ने, हामीसँग असाध्यै धेरै कम्युनिष्ट पार्टीको जस्तो संगठित मतदाता होइन । त्यसैले मलाई लाग्छ यो हुने नै हो । हामीले चर्चा गरेको ठाउँको उम्मेदवार लडेको पार्टीकोे आफ्नो मतदाताको शक्ति वा बेश २० प्रतिशत जति छ ।’