बलात्कार मुद्दामा हदम्‍याद हटाउन महिला सांसदहरुको माग


८ जेष्ठ २०७९, आईतवार

काठमाडौं – महिला सांसदहरुले नाबालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन । प्रतिनिधिसभाका नेकपा एमालेकी सांसद विन्दा पाण्डे, नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र)की सांसद अमृता थापामगरलगायतका सांसदहरुले नावालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनाको अनुसन्धानमा समेत हदम्याद लगाउने व्यवस्था राखिएको उल्लेख गर्दै त्यस्तो कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका हुन । सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीको विषयलाई लिएर प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिले आईतबार सिंहदरवारमा आयोजना गरेको अनौपचारिक छलफलमा बोल्दै एमालेकी सांसद पाण्डेले सरकारले सो घटनाको अनुसन्धानका लागि सरकारले हदम्याद हटाउनेगरी तत्काल कानुन संशोधन नगरे आफूहरुले संसदमा संकल्प प्रस्ताव ल्याउने चेतावनी दिए । उनले हदम्याद लगाउने हो भने पनि पीडितले मुख खोलेको वा घटना सार्वजनिक भएको दिनबाट मात्रै हदम्याद लगाउन उपयुक्त हुने स्पष्ट पारे । सांसद पाण्डेले महिलामाथि हुने यौनजन्य हिंसाका घटना बढदै गएपनि त्यसलाई नियन्त्रण गर्न सरकारले नसकेको भन्दै आक्रोश व्यक्त गरे ।