भ्यू टावरको अर्थ नबुझ्नेहरुले विरोध गरे: केपी ओली


८ जेष्ठ २०७९, आईतवार

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यू टावरको अर्थ नबुझ्नेहरुले यसको विरोध गर्ने गरेको टिप्पणी गरेका छन ।

पूर्वप्रधानमन्त्री समेत रहेका भएका अध्यक्ष ओलीले भ्यूटावरको अर्थ र महत्व नबुझेकै कारण नेपाली काँग्रेसले आफ्नो स्थानीय तह निर्वाचनसम्बन्धि घोषणा पत्रमा भ्यूटावर बनाउदैनौं भनेर उल्लेख गरेको जिकीर समेत गरे ।

आईतबार काठमाडौंमा मीना श्रेष्ठद्वारा लिखित कविता संग्रह ‘फर्गेट एस्टडे’ विमोचन गर्दै उनले भ्यूटावरको विरोध गरेको भन्दै नेपाली काँग्रेसलाई फ्रान्समा बनाइएको इफेल टावरले अर्बाै आम्दानी दिएको स्मरण गराए ।

ओलीले धान, मकै, कोदो, लिची नफल्ने फ्रान्सको ईफेल टावर, वासिंटन टावर र अन्य ठाउँमा रहेका टावरहरुले अर्बौ आम्दानी दिने गरेको बताए । उनले त्यस्ता टावरहरु हरेक देशको उचाई भएको र गर्वको विषय रहेको तर्क समेत गरे ।

त्यस अवसरमा अध्यक्ष ओलीले इतिहासप्रति गर्व गरेर, त्यसका गौरवपूर्ण कामहरु सम्झेर अघि बढन पनि सबैलाई आह्वान गरे ।

उनले भने, ‘पोलिटिक्स गर्दिन यहाँ, यो साहित्यिक मञ्च । एउटा पार्टीले आफ्नो घोषणा पत्रमै भन्यो–भ्यू टावर बनाउँदैनौं । भ्यूटावर बनाउने काम छैन । इफेल भन्ने ईन्जिनियर जसले ईफेल टावर बनाए । बुद्धि नभएका रहेछन कि क्या हो ? जो फ्रान्सको प्रतिक भएको छ । जसले फ्रान्सलाई अरबौको आम्दानी दिलाएको छ । भ्यूटावरभन्दा केही होईन, टुप्पामा धान फल्दैन । अलि तल कोदो फल्दैन । तल मकै पनि फल्दैन । आँप पनि फल्दैन, लिची पनि फल्दैन । पैसा मात्रै फल्छ, भ्यू टावरमा ।’