नीति तथा कार्यक्रम: इन्धनको मूल्य स्वचालित प्रणालीबाट तय गरिने


१० जेष्ठ २०७९, मंगलवार

काठमाडौं – सरकारले इन्धनको मूल्य स्वचालित प्रणालीबाट तय गर्ने भएको छ । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन ।

राष्ट्रपति भण्डारीले आपूर्तिलाई सहज बनाउन स्वचालित मूल्य प्रणाली लागू गरिने बताए ।राष्ट्रपति भण्डारीले आपूर्ति व्यवस्थालाई नियमित सहज र लागत प्रभावकारी बनाउन मूल्य निर्धारणमा स्वचालित प्रणाली लागू गरिने बताए ।

त्यस्तै सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको अध्ययन गर्ने भएको छ । राष्ट्रपति भण्डारीले सवारी साधनको व्यवस्थालाई सहज बनाउन काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चलान विस्तृत अध्ययन गर्ने बताए ।

त्यस्तै, सरकारले आगामी वर्ष राष्ट्रिय गौरवको पूर्व–पश्चिम (९४५ किमी) विद्युत रेलमार्गको निर्माण अघिको पूर्वतयारी सक्ने योजना बनाएको छ । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको पूर्वतयारी पूरा गर्ने भएको छ ।

रसुवागढी–काठमाडौं र रक्सौल– काठमाडौं रेलमार्गको विस्तृत अध्ययन गर्ने लक्ष्य लिइएको छ । चीन जोड्ने रसुवागढी–काठमाडौं रेलमार्ग करिब ७२ किमी छ । भारत जोड्ने रक्सौल काठमाडौं रेलमार्ग करिब १४२ किमी पर्छ जसको पूर्वसम्भाव्यता अध्ययन सकेर विस्तृत अध्ययन सुरु गरिएको छ । नदी प्रणालीमा आन्तरिक जल यातायातको विकास गरिने उल्लेख छ । केबलकार निर्माण र रोपवे निर्माणलाई प्राथमिकता दिइने भएको छ ।