अब गठबन्धनको ओरालो यात्रा सुरु हुन्छ: उपाध्यक्ष पौडेल


११ जेष्ठ २०७९, बुधबार

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न नसक्ने बताएका छन ।

बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष पौडेलले सरकारले प्रस्तुत गरेको आ.व.२०७९/८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहिन भएको बताए । उनले नीति तथा कार्यक्रमले मुलुकको आजका समस्याहरु चिन्न नसकेको र समाधान दिन नसकेको उल्लेख गरे ।

उनले नीति तथा कार्यक्रममा कुनै दृष्टिकोण नभएको उल्लेख गर्दै बालुवा चुसेजस्तो निरश भएको टिप्पणी गरे । नीति तथा कार्यक्रमले विगतमा अगाडी बढाइएका राष्ट्रिय गौरवका आयोजनाहरुका प्रभावकारी कार्यान्वयनमा कुनै चासो र चिन्ता व्यक्त नभएको उनको भनाई छ ।

राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका आयोजनाहरुलाई अगाडी बढाउने सन्दर्भमा पनि सरकार पूर्वाग्रही बनेको उहाँले आरोप लगाउनुभयो । स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित हुन नसकेको उल्लेख गर्दै उहाँले निष्पक्ष, भयरहित र स्वतन्त्र बातावरणमा निर्वाचन सम्पन्न भयो भनेर जनतालाई गुमराह गर्ने कोशिस भएको बताए ।

नीति कार्यक्रम भाषिक दृष्टिकोणले पनि कमशल रहेको उनले बताए । यसले मुलुकलाई कुनै नतिजा दिन नसक्ने उनले दाबी गरे ।

उपाध्यक्ष पौडेलले अब गठबन्धनको ओरालो यात्रा सुरु हुने बताए । आगामी निर्वाचनमा गठबन्धनको पटाक्षप हुने उनले बताए । आगामी निर्वाचन पछि नेकपा(एमाले)को नेतृत्वमा सरकार बन्ने कुरालाई कसैले रोक्न नसक्ने उनले दाबी गरे ।