६ कक्षासम्मका विद्यार्थीले दिवा खाजा पाउने


१५ जेष्ठ २०७९, आईतवार

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका ७० अर्ब ५ करोड विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आईतवार संघीय संसदको दुवै सदनमा प्रश्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गरेका हुन ।

उनले शिक्षामा पहुँच बिस्तार गर्नुका साथै पूर्वाधार निर्माण र गुणस्तर सुधार गरी उत्पादनशील र नवप्रवद्र्धनशील मानव पूँजी विकास निर्माण गरीने बताए । त्यस्तै प्रदेश र स्थानीय तहको सहकार्यमा रोजगारीमुलक, जीवनोपयोगी, शिक्षा प्रदान गर्न विद्यालय शिक्षा सुधार क्षेत्र कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । १४ वटा विद्यालयमा सञ्चालित पढ्दै कमाउँदै कार्यक्रमलाई थप १ सय वटा विद्यालयमा बिस्तार गर्न बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले बताए ।

उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको योजनाअन्तर्गत १ हजार २ सय सामुदायिक विद्यालयको प्राविधिक पूर्वाधारसहितका विद्यालय भवन निर्माण गर्नेपनि बताए । त्यस्तै सरकारले दिवा खाजा कार्यक्रमलाइ क्रमशः ८ कक्षासम्म बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा कक्षा ६ सम्म बिस्तार गर्ने भएको छ । भर्चुअलमाध्यमबाट शिक्षणको व्यवस्था गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न प्रत्येक प्रदेशमा २० वटा विद्यालयको लागि आवश्यक पर्ने इन्टरनेट, डिजिटल बोर्ड र अन्य सामग्री खरिदका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री शर्माले विद्यार्थीहरुको शैक्षिक नतिजाका आधारमा विद्यालय व्यवस्थापन तथा शैक्षिक सुधारको लागि प्रधानाध्यापकबाट पेस भएको प्रश्ताव विद्यालय व्इवस्थापन समितिबाट स्वीकृति भए मा सो बमोजिम योजना कार्यान्वयन गर्न ५ लाख रुपैयाँसम्म प्रधानाध्यापकले खर्च गर्न पाउने व्यवस्था मिलाएको बताए ।